Skip to content
Changing Nepal

नेपालमा स्न्याक्स उत्पादन व्यवसाय

 ·  7 min read
नेपालमा स्न्याक्स उत्पादन व्यवसाय

पफ स्न्याक्स भनेको चिज बल, ढुङ्ग्री, पोला, पफ, कुरकुरे र कुर्मुरे जस्ता सानो आकारका, कुरुम कुरुम र हल्का खाद्य पदार्थ हुन्। यी मकैको दाना, चामल वा गहुँको पिठोबाट बनाइन्छन्। कच्चा पदार्थलाई स्न्याक्स उत्पादन गर्ने मेसिनमा हालेपछि उच्च ताप र चापको कारणले सामग्री पक्छ र फुल्छ। त्यसपछि यसलाई डाइबाट पठाई विशेष आकार दिइन्छ। धेरैजसो पफ स्न्याक्स उस्तै प्रक्रियाबाट बन्ने भएपनि फरक डाइ प्रयोग गर्दा अन्तिम आकार फरक हुन्छ। सादा उत्पादनमा स्वाद थप्न विभिन्न मसला हालिन्छ।

नेपालमा प्याकेज्ड स्न्याक्सको माग सधैं उच्च रहँदै आएको छ। पर्याप्त कच्चा पदार्थ तथा मौलिक सावाद दिने स्थानीय मसला उपलब्ध भएपनि स्थानीय पसलमा बिक्री हुने अधिकांश चिज बल, कुरकुरे, ढुंग्री र फ्राइम्स जस्ता स्न्याक्स आयातित हुन्छन्। त्यसकारण नौलो मौलिक मसलाको मिश्रण प्रयोग गरी सस्तो र स्थानीय रूपमा बनेको पफ स्न्याक्सद्वारा बजार ओगट्ने स्पष्ट अवसर स्थानीय उत्पादकसामु रहेको छ। 

पफ स्न्याक्स उत्पादन व्यवसाय सुरु गर्न सजिलो छ। एउटा सानो ठाउँमा, एउटै सानो स्तरको मेसिन र सीमित सीपले पफ स्न्याक्स उत्पादन व्यवसाय सुरु गर्न सकिन्छ। व्यवसाय स्थापित भैसकेपछि उत्पादन बढाउनका लागि पूर्ण स्वचालित एक्सट्रुजन, रोस्टिङ, फ्लेभरिङ र प्याकिङ लाइन थप गर्न सकिन्छ । उपर्युक्त कारणहरूले गर्दा पफ स्न्याक्स उत्पादन उद्योग साना तथा मझ्यौला उद्योग खोल्न चाहने नयाँ उद्यमीका लागि उपयुक्त हुन्छ।

यस लेखमा पफ स्न्याक्स (कुरकुरे र पफ) उत्पादन प्रक्रिया, नेपालमा उपलब्ध मेसिनका विवरण र मूल्य समावेश गरिएका छन्।

विषयवस्तु

 

पफ स्न्याक्स उत्पादन प्रक्रिया

सादा पफ रिङ, चिज बल, स्टार/नुडल स्न्याक्स वा कुरकुरे-शैलीको पोला, जुनसुकै बनाए पनि समग्र उत्पादन प्रक्रिया मूलत: उस्तै हुन्छ। उत्पादनको प्रकार र स्तर अनुसार प्रयोग हुने मेसिन भने फरक हुन सक्छ।

  1. कच्चा पदार्थ: मकैको दाना, चामल वा दाललाई सिधै अथवा पिठो बनाई पानी र अन्य सामग्रीसँग ब्याच मिक्सरमा मिसाएर एकनासको लेदो मेसिनमा हालिन्छ।
  2. एक्सट्रुजन र आकार दिने प्रक्रिया (पफिङ): मेसिनले ताप र स्क्रुको दबाबले कच्चा पदार्थ पकाउँछ र फुलाउँछ। पाकेको सामग्री चाहिएको आकारको डाइबाट पठाई पफ स्न्याक्स बनाइन्छ।
  3. काट्ने प्रक्रिया: मेसिनबाट निस्किएका पफ पोला कटरले चाहिएको लम्बाइमा काट्छ।
  4. रोस्टिङ / सुकाउने प्रक्रिया: ताजा पफबाट रोस्टरले अतिरिक्त ओसिपन हटाई कुरुम-कुरुम र हल्का सुनौलो रङको बनाउँछ।
  5. मसला लेपन: रोस्ट भएका पफलाई मसला कोटिङ प्यान वा फ्लेभरिङ ड्रममा तेल र मसला पाउडर सहित घुमाएर एकनासको स्वाद प्रदान गरिन्छ।
  6. प्याकिङ: तयारी स्न्याक्सलाई बजारीकरणका लागि प्याक गरिन्छ। पफ स्न्याक्सका लागि प्याकेजिङ मेसिनका विकल्प र मूल्यको बारेमा हाम्रो छुट्टै ब्लग नेपालमा प्याकेजिङ मेसिनहरू उपलब्ध छ।
 

नेपालमा उपलब्ध पफ र कुरकुरे बनाउने मेसिनहरू

मेसिन लिङ्कहरू

 

ब्याच मिक्सर मेसिन

ब्याच मिक्सर मेसिन

ब्याच मिक्सर मेसिन पीठो मुछ्ने मेसिन हो। यसले मकै, चामल लगायतको पिठो वा अन्य कच्चा पदार्थ पानीसँग एकनासको हुनेगरी मिसाउँछ।

स्पेसिफिकेसन विवरण
प्रकार U-टाइप मिक्सर, स्टीलबाट बनेको
मोटर पावर २ HP, ३८०V
क्षमता ५० के.जी
मूल्य (नेपाल) रु. १,२०,०००

ब्याच मिक्सर मेसिनको विवरण हेर्नुहोस्

 

मिनी पफ मेसिन

मिनी पफ बनाउने मेसिन

मिनी पफ मेसिन (PDM20 / PE20 मोडेल) ढुङ्ग्री, पफ वा कुरकुरे उत्पादन गर्ने सानो स्तरको मेसिन हो। यो मोटर र स्ट्यान्डसहित वा बिना उपलब्ध छ। यस साथै रिङ, चिज बल र स्टार जस्ता विभिन्न आकार बनाउनका लागि ६ वटा परिवर्तनयोग्य डाइ मोल्डको विकल्प पनि पाइन्छ।

मोडेल मोटर मूल्य (नेपाल)
PDM20 (मोटर र स्ट्यान्ड बिना) समावेश छैन रु. ५५,०००
PDM20 (स्ट्यान्डसहित, मोटर बिना) समावेश छैन रु. ७०,०००
PE20 (ओस्वाल मोटर) ५ HP, सिंगल फेज २२०V रु. १,१५,०००
PE20 (ओस्वाल / चाइनिज मोटर) ५ HP, थ्री फेज ३८०V रु. १,१०,०००
PE20 (क्रम्पटन मोटर) ५ HP, सिंगल फेज २२०V रु. १,३५,०००
PE20 (क्रम्पटन मोटर) ५ HP, थ्री फेज ३८०V रु. १,२०,०००

मिनी पफ मेसिनको विवरण हेर्नुहोस्

 

पफ एक्सट्रुडर मेसिन (औद्योगिक)

पफ एक्सट्रुडर मेसिन

औद्योगिक पफ एक्सट्रुडर मेसिन ठूलो परिमाणमा ढुङ्ग्री, पफ वा कुरकुरे उत्पादन गर्ने मेसिन हो। यसमा पफ रिङ, चिज बल, स्टार/नुडल स्न्याक्स र पोला बनाउन सक्ने ४ वटा डाइ समावेश छन्।

स्पेसिफिकेसन विवरण
मुख्य मोटर २५ HP (एबिबी)
उत्पादन क्षमता ८०–१०० के.जी प्रति घण्टा
सामग्री फिडिङ मोटर १ HP, थ्री फेज
कटर मोटर १ HP, थ्री फेज
बडी पेन्ट गरिएको MS
समावेश डाइ ४ डाइ – पफ रिङ, चिज बल, स्टार/नुडल, पोला
मूल्य (नेपाल) रु. ४,७०,०००

पफ एक्सट्रुडर मेसिनको विवरण हेर्नुहोस्

 

कुरकुरे प्लान्ट

कुरकुरे प्लान्ट मेसिन

कुरकुरे प्लान्ट व्यावसायिक परिमाणमा कुरकुरे-शैलीको स्न्याक्स उत्पादन गर्ने मेसिन हो। निरन्तर उच्च उत्पादनका लागि यसमा बलियो मोटर जडान गरिएको छ। यो कुरकुरे/पोला आकारको १ डाइसहित उपलब्ध हुन्छ।

स्पेसिफिकेसन विवरण
मुख्य मोटर २० HP
उत्पादन क्षमता १०० के.जी प्रति घण्टा
सामग्री फिडिङ मोटर ५ HP, थ्री फेज
बडी पेन्ट गरिएको MS
समावेश डाइ १ डाइ (कुरकुरे/पोला)
मूल्य (नेपाल) रु. ५,२०,०००

कुरकुरे प्लान्ट मेसिनको विवरण हेर्नुहोस्

 

पोला कटर मेसिन

पोला कटर मेसिन

पोला कटर मेसिनले अन्य मेसिनबाट निस्किएका लामा ढुङ्ग्री, पफ वा कुरकुरेलाई चाहिएको लम्बाइमा काट्छ। यो सहायक मेसिनको रूपमा प्रयोग हुन्छ।

स्पेसिफिकेसन विवरण
बडी पूर्ण MS, ब्राकेट र प्यानलसहित
लोड १.५ HP (०.५ HP x ३), ३८०V
क्षमता ९०–१२० के.जी प्रति घण्टा
काट्ने लम्बाइ ४ देखि १२ इन्च (समायोज्य)
मूल्य (नेपाल) रु. २,३०,०००

पोला कटर मेसिनको विवरण हेर्नुहोस्

 

रोस्टर मेसिन

रोस्टर मेसिन

रोस्टर मेसिनले ताजा ढुङ्ग्री, पफ वा कुरकुरेबाट अतिरिक्त ओसिपन हटाई कुरकुरेपन प्रदान गर्छ। यसमा हपर, भाइब्रेटर फिड र समायोज्य स्पीड कन्ट्रोलरसहित पूर्ण स्टेनलेस स्टिल बडी पाइन्छ।

स्पेसिफिकेसन विवरण
उत्पादन क्षमता १५० के.जी प्रति घण्टा
पावर १२ kW, थ्री फेज, ५ हिटर
बडी पूर्ण SS बडी, १२ फिट लम्बाइ
विशेषता हपर, भाइब्रेटर, समायोज्य स्पीड कन्ट्रोलरसहितको इलेक्ट्रिक प्यानल
मूल्य (नेपाल) रु. ३,००,०००

रोस्टर मेसिनको विवरण हेर्नुहोस्

 

मसला कोटिङ प्यान

मसला कोटिङ प्यान

मसला कोटिङ प्यानले रोस्ट भएका पफलाई तेल र मसला पाउडरसँग घुमाएर समान स्वाद प्रदान गर्छ। ओभल आकारको यो घुम्ने प्यान ब्याचअनुसार मसला छर्नका लागि सरल र प्रभावकारी विकल्प हो।

स्पेसिफिकेसन विवरण
क्षमता २०–३५ के.जी
साइज ४८ इन्च, SS ओभल बेस, पेन्ट गरिएको MS
मोटर पावर २ HP, ३८०V
मूल्य (नेपाल) रु. १,५०,०००

कोटिङ प्यानको विवरण हेर्नुहोस्

 

मसला फ्लेभरिङ ड्रम

मसला फ्लेभरिङ ड्रम कोटिङ प्यानको तुलनामा बढी क्षमताको विकल्प हो। 

स्पेसिफिकेसन विवरण
ड्रम मोटर १ HP
मसला ट्याङ्की मोटर १/२ HP
साइज ११ x ३ x ५ फिट
क्षमता १०० के.जी प्रति घण्टा
मूल्य (नेपाल) रु. ३,२०,०००
 

तुलना तालिका

मेसिन उपयुक्तता / प्रयोग क्षमता / उत्पादन पावर मूल्य (रु.)
ब्याच मिक्सर मेसिन पिठो मुछ्ने ५० के.जी/ब्याच २ HP १,२०,०००
मिनी पफ बनाउने मेसिन सानो स्तरको पफ उत्पादन ६ डाइ आकार ५ HP (PE20) / मोटर समावेश छैन (PDM20) ५५,०००–१,३५,०००
पफ एक्सट्रुडर मेसिन (औद्योगिक) मध्यम देखि ठूलो स्तरको पफ उत्पादन ८०–१०० के.जी/घण्टा २५ HP ४,७०,०००
कुरकुरे प्लान्ट ठुलो स्तरको कुरकुरे/पोला उत्पादन १०० के.जी/घण्टा २० HP ५,२०,०००
पोला कटर मेसिन ढुङ्ग्री, पफ वा कुरकुरे काट्ने ९०–१२० के.जी/घण्टा १.५ HP २,३०,०००
रोस्टर मेसिन पफ स्न्याक्स सुकाउने र कुरुम-कुरुम बनाउने १५० के.जी/घण्टा १२ kW ३,००,०००
मसला कोटिङ प्यान मसला मिसाउने २०–३५ के.जी/ब्याच २ HP १,५०,०००
मसला फ्लेभरिङ ड्रम मसला मिसाउने १०० के.जी/घण्टा १ HP ३,२०,०००
 

बारम्बार सोधिने प्रश्नहरू

१. नेपालमा साना स्तरको स्न्याक्स व्यवसाय सुरु गर्न कुन पफ बनाउने मेसिन उत्तम हो?

साना स्तर वा पहिलोपटक व्यवसाय सुरु गर्ने उद्यमीका लागि मिनी पफ बनाउने मेसिन (PDM20/PE20 मोडेल) राम्रो विकल्प हो। उक्त मेसिन सानो र तुलनात्मक रूपमा सस्तो पर्छ। यसमा फरक-फरक आकार बनाउन ६ वटा डाइ मोल्ड पनि उपलब्ध छन्। 

२. पफ एक्सट्रुडर र कुरकुरे मेसिनबीच के फरक छ?

पफ एक्सट्रुडर मेसिनमा ४ वटा डाइ हुन्छन् र यसले रिङ, चिज बल र स्टार/नुडल स्न्याक्स जस्ता धेरै आकार बनाउन सक्छ। कुरकुरे प्लान्ट मेसिन कुरकुरे/पोला-शैलीका स्न्याक्सका लागि मात्र बनाइएको मेसिन हो।

३. नेपालमा पफ स्न्याक्स बनाउने मेसिनको मूल्य कति हो?

नेपालमा पफ र कुरकुरे बनाउने मेसिनको मूल्य सामान्यतया रु. ५५,००० देखि रु. ८,८०,००० सम्म हुन्छ।  मेसिनको मूल्य मेसिनको प्रकार, क्षमता र मोटरको साइजमा भर पर्छ। मिनी पफ बनाउने मेसिन सबैभन्दा सस्तो सुरुवाती विकल्प हो भने पफ एक्सट्रुडर र कुरकुरे प्लान्ट मध्यम देखि ठूलो स्तरको व्यावसायिक उत्पादनका लागि उपयुक्त हुन्।

४. पफ स्न्याक्स वा कुरकुरे बनाउने पूरा प्रक्रिया के हो?

पफ स्न्याक्स उत्पादनको सामान्य प्रक्रियामा मिसाउने, एक्सट्रुजन/पफिङ, काट्ने, रोस्टिङ, मसला कोटिङ र प्याकिङ पर्दछन्। हरेक चरणको विस्तृत जानकारीका लागि माथिको पफ स्न्याक्स उत्पादन प्रक्रिया खण्ड हेर्नुहोस्।

५. कुरकुरे वा पफ उत्पादनका लागि छुट्टै मसला कोटिङ मेसिन चाहिन्छ?

रोस्टिङपछि तेल र मसला पाउडर समान रूपमा लगाउन छुट्टै मेसिन चाहिन्छ। ब्याचको साइज र उत्पादन गतिअनुसार मसला कोटिङ प्यान वा बढी क्षमताको मसला फ्लेभरिङ ड्रम प्रयोग गर्न सकिन्छ।

६. उत्पादनपछि पफ स्न्याक्स प्याक गर्न कुन मेसिन प्रयोग गरिन्छ?

प्याकेजिङ भनेको पफिङ, रोस्टिङ र मसला कोटिङभन्दा फरक चरण हो। ब्यान्ड सिलर, अटो फ्लो र्‍यापिङ लगायत अन्य प्याकेजिङ मेसिनका विकल्प र मूल्यको विस्तृत जानकारीका लागि हाम्रो छुट्टै ब्लग नेपालमा प्याकेजिङ मेसिनहरू हेर्नुहोस्।